सुचना, समाचार र मनोरन्जन

झ्याउरे नृत्य कार्यशाला–२०८३ को उद्घाटन

पोखरा, 

नेपाली मौलिक लोकनृत्य झ्याउरेको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘झ्याउरे नृत्य कार्यशाला–२०८३’ को आज औपचारिक उद्घाटन गरिएको छ।

बागिना कला पाठशाला तथा नृत्य पोशाक केन्द्र र निश्चल डान्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यशालामा पोखरा महानगरपालिकाभित्रका १०० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। कार्यक्रममा PABSON तथा NPABSON अन्तर्गतका विद्यालयहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यशालाको उद्घाटन वरिष्ठ नृत्य निर्देशक नेत्रबहादुर गुरुङबाट गरिएको हो। उद्घाटन कार्यक्रममा नेपाली मौलिक लोकनृत्य तथा संस्कृतिको संरक्षण र नयाँ पुस्तामाझ यसको महत्व विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यशालामा सहभागी विद्यार्थीहरूलाई नृत्य विशेषज्ञ तथा प्रशिक्षक साजन मगरातीले झ्याउरे नृत्यको प्रशिक्षण प्रदान गरिरहनुभएको छ। प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई झ्याउरे नृत्यका मौलिक चाल, लय, शैली तथा प्रस्तुतीकरणका विभिन्न पक्षबारे प्रशिक्षण दिइएको छ।

विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ। यस कार्यशालाले विद्यार्थीहरूमा नेपाली मौलिक लोकनृत्यप्रतिको रुचि, ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यशालामा सहभागी विद्यार्थीहरूलाई भोलि समापन अवसरमा प्रमाण–पत्र वितरण गरिने आयोजकले जनाएको छ। साथै आगामी दिनमा पनि नेपाली मौलिक कला, संस्कृति तथा लोकनृत्यको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजक संस्थाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.