सुचना, समाचार र मनोरन्जन

शनिवार ‘अञ्जिला’को बम्पर व्यापार भएपछि निर्देशक चाम्स दंग

काठमाडौं :

बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेपछि निर्देशक मिलन चाम्स उत्साहित बनेका छन्। प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको यो फिल्म हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि निर्देशक दंग परेका हुन्।

हलमा नयाँ शोहरू समेत थपिएको वितरक करण श्रेष्ठले बताए। उनले देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको बताए। दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन्।

टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्,जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ। यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन्। यो फिल्म हेर्दा दर्शकहरू भाव विह्वल भएका छन्। फिल्मले स्वतन्त्र समीक्षकहरूको पनि मन जित्न सफल भएको छ। सोसल मिडियाहरूमा फिल्मका बारेमा आएका समीक्षाहरू सबै सकारात्मक छन्।

फिल्मको कथा,निर्देशन,अभिनय र गीत–संगीतलाई व्यापक प्रशंसा मिलिरहेको छ। फिल्मको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छन्।‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.