काठमाडौं :
मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को भव्य प्रिमियर भएको छ। धरानपछि काठमाडौंमा भएको ग्राण्ड फिल्ममा अधिकांश दर्शकलाई रुवाएको छ। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको फिल्म हेरेपछि अधिकांश रोएका दृश्य देखिन्थेँ।
फिल्मको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बनेका थिए। उनीको संघर्षका दिनमा खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिनाईलाई पर्दामा उतारिएको छ। उनको जीवनीलाई उत्कृष्ट रूपमा फिल्ममा उतारेको भन्दै उपस्थित सबैले निर्देशक मिलन चाम्सको प्रशंसा गरेका थिए। हलबाट निस्किँदै गर्दा प्रायः दर्शकहरू रोइरहेका देखिन्थे भने फिल्म हेरेर कहिल्यै नरुनेहरूले समेत आफूलाई सम्हाल्न गाह्रो भएको बताए।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, पत्रकारहरू प्रकाश सुवेदी, टिकाराम यात्री, डब्बु क्षेत्री, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायत चलचित्र टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू, पत्रकारहरू, र शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेको थियो
फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको यो हेरेका आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो फिल्मले एन्जिला हुनुको वास्तविकता देखाएको बताए। उनले भने,‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो । एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ।’
पूर्व कप्तान गणेश थापाले चलचित्र हेर्दा आफू ३–४ पटक रोएको बताए।
उनले मिडियासँगको कुराकानीमा भने,‘एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ। हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो। त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ।’
थापाले पूर्व सशस्त्र प्रहरी उपरीक्षक तथा यस फिल्मका निर्माता एवम् कलाकार प्रेमकुमार श्रेष्ठको प्रशंसा गर्दै खेल र खेलाडीलाई सधैँ माया गर्ने व्यक्तिको रूपमा व्याख्या गरे।
फिल्म हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको जनाइन्।
उनले भनिन्,‘हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि सङ्घर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको सङ्घर्ष के कस्तो थियो भन्ने विषय चलचित्र मार्फत आएको छ। चलचित्र एकदमै सशक्त माध्यम हो । एन्जिलाको सङ्घर्षको कथा नपढेको नसुनेको होइन तर, चलचित्र मार्फत आउँदा यसरी मन छेडेर गएको छ की निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ।’
निर्देशक चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिए।
उनले भने,‘मैले एन्जिलालाई ’तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाऊ’ भनेको थिएँ । म आफैले पनि हरेक पटक चलचित्र हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ।’
यसअघि यस चलचित्रको हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको यो फिल्ममा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह–निर्माता हुन्।
ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाजमा भव्य सजावट र रेड कार्पेटले सजिएको प्रिमियरमा फिल्मका तर्फबाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति थियो। यद्यपि, यस फिल्मकी मुख्य पात्र तथा अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।