काठमाडौँ :
भोलिदेखि देशभर तेस्रो सातामा प्रदर्शन हुँदै गएको नेपाली चलचित्र ‘मन बिनाको धन’ लाई राष्ट्रिय दलित आयोगले शुभकामना व्यक्त गरेको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै चलचित्रले जातीय छुवाछुत जस्ता कुप्रथाविरुद्ध दिएको सकारात्मक सन्देशप्रति धन्यवाद ज्ञापन गरेका हुन्।
अशोक दर्जीको मुख्य भूमिकामा तयार भएको फिल्मले गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध तथा सामाजिक चेतनाका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको आयोगको मूल्यांकन छ। जातीय विभेदमुक्त समाज निर्माणतर्फ सिर्जनात्मक योगदान पुर्याएको भन्दै अध्यक्ष विश्वकर्माले निर्देशक टंक बुढाथोकीसहित सम्पूर्ण टिमलाई निरन्तर सफलताको शुभकामना दिएका छन्।
देश–विदेशमा प्रदर्शन विस्तार गरिरहेको फिल्म ‘मन बिनाको धन’ ले १३ दिनमै तीन करोडभन्दा बढी बक्स अफिस कलेक्सन गर्दै व्यावसायिक सफलता कायम गरेको निर्माण पक्षले जनाएको छ। नेपालसँगै कतार, युएई र बहराइनमा प्रदर्शन भइसकेको फिल्म मङ्सिर १३ गतेदेखि अष्ट्रेलियामा पनि रिलिज हुँदैछ। चाँडै साउदी अरब, दक्षिण कोरिया लगायतका क्षेत्रमा पनि प्रदर्शन विस्तार हुने तयारी छ।
चलचित्रका मुख्य कलाकारहरू अशोक दर्जी र रमेश विश्वकर्मालाई विभिन्न स्थानमा भेट्दा दर्शकले रुँदै अँगालो हालेका दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन्। सर्लाही पुगेका कलाकारहरूको पन्चे बाजाले स्वागत गरिएको थियो भने स्थानीयले ‘दुबोको माया’सहित हलसम्म पुर्याए।
टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रको कथा स्वयं बुढाथोकीले लेखेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरिएको फिल्मकी निर्माता विष्णुमाया मैनाली, कार्यकारी निर्माता मिनु शर्मा ‘सपना’ तथा सहनिर्मातामा जीपी संग्रोला, विवेक नेपाल र विजय पाण्डे छन्। फिल्मका क्रियटिभ निर्देशक टिकराम बुढाथोकी हुन्।