काठमाडौँ :
नयाँ नेपाली चलचित्र ‘बब डाई’ को छायांकन सोमबार शुभमुहूर्तसँगै सुरु गरिएको छ। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा बन्ने फिल्मको छायांकन चन्द्रागिरीबाट सुरु भएको हो। निर्माण टिमका अनुसार ४५ दिनको सेड्युलसँगै काठमाडौं, किर्तिपुर र चन्द्रागिरी आसपासकै क्षेत्रमा छायांकन पूरा गरिनेछ।
फिल्मलाई १२ वर्षपछि निर्देशनमा फर्किएका प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन्। ‘मोक्ष’पछि लामो अन्तराल लिएका निर्देशक श्रेष्ठले ‘बब डाई’ किर्तिपुरकै कथामा आधारित रहेको बताए। नामबारे उनले भने, “नेवारी भाषामा ‘दाई’ लाई ‘डाई’ भनिन्छ। त्यसैले बब दाई भन्ने पात्रलाई स्थानीय टोनमा ‘बब डाई’ राखिएको हो।” सोही पात्रको भूमिकामा सौगात मल्ल देखिनेछन्।
सौगातसँगै सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय रहनेछ।
फिल्मको कथा मैनिषा गौचन र प्रबिन श्रेष्ठले लेखेका हुन्। मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने रहेको फिल्ममा दिनेश बहादुर राउत सहायक निर्देशक छन्। छायांकन श्याम तामाङको टिमले गरिरहेको छ भने सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गर्नेछन्। कास्टिङ निर्देशन निरपेश रुपाखेतीले देखेका छन्। सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर र रोयल भिमसेन पोस्टर डिजाइनर हुन्। कोरियोग्राफी सृष्टि महर्जनले सम्हालेकी छन् भने सहायक निर्देशनमा बिवेक राज भट्ट र आयुष दाहाल छन्।
चलचित्रका निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन्। कार्यकारी निर्माता रबिन्द्र प्रजापती रहेका फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन।