निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन्। जसको शीर्ष स्थानमा कामेश्वर चौरसिया छन्। लामो कपाल र दारीमा रहेका उनको चेहरामा खुसी छ। पोस्टरमा रहेका अन्य कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् । प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छ ।
यो पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन। जिल्ला कारागार मोरङ छ। अर्को एक सरकारी कार्यालय पनि देखिएको छ । तर, कुन हो प्रष्ट छैन । पोस्टर र कलाकारको अनुहारमा गरिएको रङ संयोजनले आँट र तनाव र गंजागोलको संकेत गरेको छ। तर, केका लागि भन्ने प्रष्ट छैन। पैसा, सम्बन्ध, विश्वास जे सुकैको पनि हुनसक्ने अनुमान लगाउयन सकिन्छ।
यसअघि सोमबार ‘अभिमन्यु : च्याप्टर १’को दुईवटा पोस्टर सार्वजनिक भएको थियो। त्यसमा पनि खुसी र तनाव देखाइएको थियो। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ। पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन्।‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ।