पोखरा,
भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि बीएण्डबी ग्रुपले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
सामाजिक अभियन्ता तथा व्यवसायी विमल बसेल र उनकी धर्मपत्नी विमला बसेलद्वारा सञ्चालित बीएण्डबी ग्रुपअन्तर्गतको बीएण्डबी लेक भ्यू अपार्टमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको ग्रुपले जनाएको छ।
देशले गम्भीर विपद्को सामना गरिरहेका बेला आवश्यकतामा रहेका नागरिकको पक्षमा उभिनु प्रत्येक जिम्मेवार संस्थाको दायित्व भएको विमल बसेलले बताए। संकटको समयमा गरिने सानोभन्दा सानो सहयोगले पनि प्रभावितका लागि ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
‘नेपालका लागि, नेपाली जनताका लागि’ भन्ने मूल ध्येयलाई आत्मसात् गर्दै आएको बीएण्डबी ग्रुपले जुनसुकै संकटपूर्ण परिस्थितिमा पनि नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ।
राष्ट्रिय संकटका बेला निजी क्षेत्रबाट गरिने यस्तो सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्नुका साथै सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।