काठमाडौँ :
साउथ सुपरस्टार यशको मुख्य अभिनय रहेको भारतीय फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन(अप्स’ बक्स अफिसमा नराम्ररी पछारिने संकेत देखिएको छ। करिब ५ सय करोडको भारी बजेटमा बनेको यो विशाल ग्याङस्टर ड्रामालाई कमजोर कथावस्तु र लम्बेतान लम्बाइका कारण दर्शकले रुचाएका छैनन्।
यस फिल्मको समीक्षकहरुले आलोचना गरिरहेका छन्। पहिलो दिन १०० करोडभन्दा माथिको सानदार ओपनिङ गरे पनि दोस्रो दिनमै यसको व्यापारमा झन्डै ६३ प्रतिशतको ठूलो गिरावट आएको छ। १ देखि २ स्टारसम्मको कमजोर रेटिङ र नकारात्मक प्रतिक्रियाका कारण भारतसहित अन्तर्राष्ट्रिय बजारमा समेत फिल्मले दोस्रो दिनदेखि नै घुँडा टेकेको छ। नेपालमा पनि अहिले दर्शकले मन पराउन छाडेका छन्।
विदेशी तथा भारतीय ठूला फिल्महरूको दबदबाका कारण नेपाली पर्दामा बहुप्रतिक्षित स्वदेशी फिल्महरूले शो र दर्शक नपाउने पुरानो समस्या रहँदै आएको छ। तर, बलिउड र साउथाली बजारमै ठूलो आशा गरिएको ‘टक्सिक’ले दर्शकको साथ नपाएपछि र यसको साख खस्किएपछि त्यसको प्रत्यक्ष फाइदा शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पार्वती’लाई पुग्ने देखिएको छ। ठूला विदेशी फिल्म कमजोर बन्दा मल्टीप्लेक्स तथा एकल पर्दाहरूमा शो संख्या नेपाली फिल्मतिरै ढल्किने र ‘टक्सिक’ हेर्न हलसम्म पुग्ने दर्शकको रोजाइमा समेत ‘पार्वती’ पर्न सक्ने अनुकूल वातावरण बनेको छ।
नेपालमा एकातिर बाढीको विषम परिस्थिति र अर्कातिर ठूला विदेशी फिल्मको प्रतिस्पर्धात्मक चुनौतीका बीच प्रदर्शनमा आएको नीता ढुंगाना निर्देशित ‘पार्वती’ले पहिलो दिनमै देशभरी १ सयभन्दा बढी शो पाउन सफल भएको छ। अटिजम भएकी युवतीको संघर्ष र दिदीभाइको आत्मीय सम्बन्धको कथा बोकेको यस चलचित्रले हलमा पुगेका दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया (माउथ पब्लिसिटी) बटुलिरहेको छ। ‘टक्सिक’प्रतिको निराशा र ‘पार्वती’प्रतिको सकारात्मक माउथ पब्लिसिटीले गर्दा आगामी दिनमा ‘पार्वती’को शो संख्या बढ्ने र यसले व्यावसायिक रूपमा ठूलो राहत पाउने निश्चित देखिएको छ।