काठमाडौँ :
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधन र पूर्वाधारको क्षति भई देश शोकमा डुबेका बेला नेपाली फिल्मका प्रचार तथा मनोरञ्जनका गतिविधिहरू ठप्प बनेका छन्। बाढीको विपद्का कारण फिल्म प्रदर्शन हुने वा नहुने भन्ने अन्योलकाबीच फिल्म ‘पार्वती’ भने शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ।

अग्रिम टिकट बुकिङ खुलेर बिक्री समेत भइसकेकाले निर्माण पक्षले प्रदर्शन नरोक्ने निर्णय गरेको हो। तर, यस विषम परिस्थितिप्रति संवेदनशीलता देखाउँदै निर्माताले फिल्मको प्रदर्शनको पहिलो दिनको सम्पूर्ण कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितलाई सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेका छन्।
अभिनेत्री नीता ढुंगानाको निर्देशनमा तयार भएको ‘पार्वती’ले देशभरका हलहरूमा १०० भन्दा बढी शो पाएको छ। केही शोहरूमा दर्शकको उपस्थिति राम्रो देखिएको छ भने पहिलो शो हेरेका दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया (माउथ पब्लिसिटी)मिलेको जनाइएको छ। फिल्मका वितरक करण श्रेष्ठ क्रेजीले बिहान मात्रै यो फिल्मले नेपालघरबाट १० लाखभन्दा माथीको कलेक्सन गरेको जानकारी दिएका थिए। हल भिजिटका क्रममा उनले भने,‘बिहानको शोबाट मात्रै दश लाखभन्दा माथीको व्यापार फिल्मले गरेको छ। दिउँसो र बेलुकाको हेर्ने हो भने फिल्मले राम्रै कलेक्सन गर्न सक्छ।’
निर्माण पक्षका अनुसार यो फिल्मको कलेक्सन सिधै बाढी पिडितको राज्य कोषमा जम्मा हुनेछ। अभिनेता हरिहर अधिकारीको लगानीमा निर्माण भएको यस फिल्ममा नीता ढुंगाना स्वयं मुख्य भूमिकामा छिन्। साथै अशोक दर्जी, दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मले दिदीभाइको पवित्र सम्बन्धलाई केन्द्रमा राख्दै अटिजम भएकी एक युवतीको जीवन र संघर्षको कथालाई पर्दामा उतारेको छ।