काठमाडौं :
नेपालमा बुधबार रसुवा र नुवाकोटसहितका पहाडी क्षेत्रमा भोटेकोशी बाढीले मचाएको विनाशपछि नेपालका जोखिममा परेका बालबालिकाको सुरक्षालाई लिएर विश्व समुदायको ध्यान खिचिएको छ। यस दुखद् अघिमा हलिउड–बलिउड अभिनेत्री प्रियंका चोपडा र अन्तर्राष्ट्रिय पप स्टार जेन मलिकले विश्वभरबाट सहयोग जुटाउने अभियान थालेका छन्। बाढीका कारण अति प्रभावित बनेका कम्तीमा १७ हजार बालबालिकालाई तत्काल आपत्कालीन राहत र मानवीय सहायता आवश्यक रहेको भन्दै विश्व समुदायलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जारी गरेको आपत्कालीन अपिल र विनाशकारी बाढीका कहालीलाग्दा तस्वीरहरू आफ्नो आधिकारिक सामाजिक सञ्जालमा साझा गर्दै यी दुवै स्टारहरूले नेपालका बाढीपीडित बालबालिकाको जीवन रक्षाका लागि एकजुट हुन आग्रह गरेका हुन्। बाढी र पहिरोले बस्तीहरू सोहोरेपछि अभिभावक गुमाएका, घरबारविहीन भएका तथा आधारभूत स्वास्थ्य र खाद्यान्नबाट वञ्चित भएका बालबालिकाको स्थिति संवेदनशील बनेको भन्दै उनीहरूले यो सन्देश फैलाएका हुन्।
युनिसेफकी सद्भावना दूत समेत रहेकी प्रियंका चोपडा र बेलायती गायक जेन मलिकको यो कदमले नेपालको पछिल्लो प्राकृतिक विपद् र त्यसले बालबालिकामा पारेको गम्भीर प्रभावलाई विश्वमञ्चमा उजागर गरेको छ। विपद्का बेला रोगको संक्रमण, कुपोषण र ओतलाग्ने ठाउँको अभावमा साना बालबालिकाहरू सर्वाधिक जोखिममा रहने भएकाले अन्तर्राष्ट्रिय समुदायबाट अविलम्ब राहत सामग्री पुर्याउनुपर्ने उनीहरूको जोड छ।
विश्वभर करोडौँ शुभचिन्तक रहेका यी दुई प्रतिष्ठित कलाकारहरूको सार्वजनिक आह्वानपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सहायता निकायहरूको ध्यान नेपालको बाढीपीडित क्षेत्रतर्फ मोडिने र प्रभावित बालबालिकाले द्रुत गतिमा राहत पाउने विश्वास लिइएको छ। बिहिबार भारतिय अभिनेता सोनु सुद,गायक सोनु निगम लगायतले पनि राहतको व्यवस्था गर्न लागेको जानकारी दिएका थिए। त्यसमध्ये सोनु सुद नेपाल नै आउन लागेको जानकारी दिएका छन्। तर कहिले आउँछन् उनले जानकारी दिएका छैनन्।