बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ। हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ। हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र नै ५१औँ दिन मनाउन सफल भएको हो।
पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ। चलचित्रमा दिव्यदेव, झरना थापा,सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।