काठमाडौँ :
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिका कारण आगामी भदौ १९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बा स् एक योद्धा’को प्रदर्शन स्थगित भएको छ। निर्माण पक्ष आर्टिस्टिक इन्टरटेन्मेन्टले भदौ १५ गते विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थिति र प्राकृतिक विपत्तिलाई ध्यानमा राखेर फिल्मको नयाँ प्रदर्शन मिति आगामी मङ्सिर २४ गते बिहीबारलाई तय गरिएको जानकारी दिएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट सिर्जित मानवीय संकट र पीडितहरूप्रतिको ऐक्यबद्धता स्वरूप चलचित्रको प्रदर्शन पछाडि सारिएको निर्माता वसन्त लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्म यस्तो शोकको घडीमा प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै निर्माण टोलीले दर्शक, प्रदर्शक, वितरक र सञ्चारकर्मीहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।
विपद्को यस कठिन समयमा चलचित्र ‘बा स् एक योद्धा’ परिवारले राहत तथा उद्धार सहयोगका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २ लाख १ हजार जम्मा गरेको छ। साथै राष्ट्र नै शोकमा डुबेको यस परिस्थितिमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आ(आफ्नो तर्फबाट राहत र उद्धार कार्यमा जुट्न समेत निर्माण पक्षले अपिल गरेको छ। यस फिल्ममा दिव्यदेव पन्तका अलवा झरना थापा,सुहाना थापा लगायतको अभिनय रहेको छ। यो फिल्मसँगै प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’पनि सरेर मंसिर ११ गते पुगिसकेको छ।