सुचना, समाचार र मनोरन्जन

नीता–हरिहरको मनकारी कदम, बाढीपीडितका लागि ११ लाख सहयोग

काठमाडौँ :

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका पीडितहरूका लागि प्रदर्शनरत फिल्म ‘पार्वती’ टोलीले ११ लाख ३ हजार २७० रुपैयाँ राहत सहयोग गरेको छ। फिल्मका निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी,कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ र वरिष्ठ पत्रकार प्रकाश सुवेदीको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकम फिल्मले प्रदर्शनको पहिलो दिन (शुक्रबार)देशभरका हलहरूबाट संकलन गरेको कुल २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताको भागमा परेको शेयर हो। निर्देशक ढुङ्गानाले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत मिलोस् भन्ने उद्देश्यले निर्माताको भागको सम्पूर्ण आम्दानी सरकारी कोषमा जम्मा गरिएको बताइन्। साथै,फिल्म प्रदर्शन भइञ्जेल हुने कुल आम्दानीको ५ प्रतिशत रकम निरन्तर बाढी पीडितलाई दिने निर्णय समेत निर्माण पक्षले गरेको छ। सहयोग हस्तान्तरणका क्रममा निर्माता हरिहर अधिकारीले पहिलो दिनको आम्दानीबाहेक व्यक्तिगत रूपमा पनि कोषको क्यूआर कोडमार्फत थप रकम जम्मा गरिएको जानकारी दिए। यस्तै, फिल्मका बालकलाकार तथा गायक अशोक दर्जीले पनि व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्।

बाढीको प्रभावका कारण अपेक्षा गरिएअनुसार दर्शकको उपस्थिति नरहे पनि फिल्मले दोस्रो दिन (शनिबार)देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरक करण श्रेष्ठले जनाएका छन्। सोमबार र मङ्गलबार पनि देशभरका हलहरूमा यस फिल्मको शो संख्या सयभन्दा बढी रहेको छ। नीता ढुङ्गानाको मुख्य भूमिका र कथा ,पटकथा रहेको फिल्म ‘पार्वती’मा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको लेखन शिवम् अधिकारीले गरेका हुन् भने एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा वितरणको जिम्मा लिएका छन्।

Leave A Reply

Your email address will not be published.