काठमाडौँ :
गायिका अञ्जु श्रेष्ठले तीजको अवसर पारेर नयाँ गीती कोसेली ‘एक वर्षमा एक चोटी’ सार्वजनिक गरेकी छन्। हरेक वर्ष तीजमा नयाँ गीत ल्याउने निरन्तरता स्वरूप उनले यस वर्ष पनि नयाँ गीत दर्शक तथा स्रोतामाझ ल्याएकी हुन्।
रसुवामा आएको बाढीका कारण मुलुक शोकमा परेको र सम्पूर्ण तयारी तथा छायांकन सकिइसकेकाले बाध्यतात्मक परिस्थितिमा गीत सार्वजनिक गर्नुपरेको गायिका श्रेष्ठले बताएकी छन्। देशको संवेदनशील अवस्थाप्रति आफू पूर्ण रूपमा सजग रहेको उल्लेख गर्दै उनले असहज परिस्थितिका बाबजुद आएको यस सिर्जनालाई साथ दिन दर्शक तथा स्रोताहरूसँग आग्रह गरेकी छन्।
सार्वजनिक गीतमा अञ्जु श्रेष्ठकै स्वर र अभिनय रहेको छ भने उनलाई दृश्यमा मोडल डिम्पल नगरकोटीले अभिनय तथा नृत्यमा साथ दिएकी छन्। दीपक शर्मा र निशान साउदको शब्द रचना रहेको उक्त गीतमा दीपक शर्माले नै संगीत भरेका छन्।
मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई दिनेश पराजुलीले छायांकन र मनोज कार्कीले सम्पादन तथा रङ संयोजन गरेका हुन्। गंगामाया श्रेष्ठ निर्माता रहेको यस गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् भने शृङ्गार संगीता मिजारको रहेको छ।