सुचना, समाचार र मनोरन्जन

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

काठमाडौँ :

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिन आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ। सुरुवाती तीन दिन अविरल वर्षाका कारण अपेक्षित व्यापार गर्न नसकेको चलचित्रले मङ्गलवारदेखि भने बक्स अफिसमा गति लिएको हो।

मङ्गलवार लागू भएको ‘डिल डे’ (५० प्रतिशत छुट) को प्रभावसँगै चलचित्रका अधिकांश शोहरूमा दर्शकको चाप ह्वात्तै बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ। मङ्गलवार देशभरका ७९ शोमध्ये धेरैजसो शो हाउसफुल भएका थिए।

दर्शकको माग बढ्दै गएपछि बुधबार चलचित्रको शो संख्या वृद्धि गरी देशभर १ सयभन्दा बढी पुर्‍याइएको छ। काठमाडौँ उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलहरूसम्म चलचित्र हेर्न आउने दर्शकको उपस्थिति बाक्लो देखिएको छ।

चलचित्र हेरेका दर्शकले यसको भावनात्मक पक्षको विशेष प्रशंसा गरेका छन्। बाबुआमाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने दुःखलाई जीवन्त रूपमा प्रस्तुत गरिएकाले चलचित्रले भावुक बनाएको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

हलमै पुगेर दर्शकसँग साक्षातकार गरिरहेको कलाकार टोलीले मङ्गलवारदेखि बढेको दर्शकको भीडले आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा हरि लम्सालको कथा, पटकथा तथा निर्देशनमा बनेको यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने कार्यकारी निर्माता अनिल बुढाथोकी हुन्। अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.