सुचना, समाचार र मनोरन्जन

गीतकार रामेश्वर के.सी. र संगीतकार बबिना भट्टराईको गीति एल्बम ‘आरम्भ’ सार्वजनिक

काठमाडौँ :

 गीतकार रामेश्वर के.सी.का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराईको एकल स्वर र संगीत रहेको गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ। शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित एक विशेष समारोहका बीच नेपाली सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो।

वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतका स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले गीतकार रामेश्वर के.सी.का मर्मस्पर्शी शब्द र बबिना भट्टराईको सशक्त गायन एवं मधुर संगीतको उच्च प्रशंसा गरे।

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बबिना भट्टराई गायिका र संगीतकारका रूपमा परिचित छिन्। उनले आधुनिक, गजल, भजन, लोक र बालगीत गरी थुप्रै विधाहरूमा आफ्नो स्वर र संगीतको जादु छरिसकेकी छन्।

लोकार्पण समारोहमा एल्बममा समावेश पाँच गीतमध्ये तीनवटाको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो। ‘आरम्भ’ एल्बमका सबै पाँचवटै गीतका भिडियोहरू ‘बबिना भट्टराई’ को आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.