पोखरा,
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ८ र ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ।

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले समेत देशका विभिन्न स्थानमा भारी वर्षा, अतिभारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै पूर्वसावधानी अपनाउन स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न तथा गराउन अनुरोध गरेको छ।
सोहीअनुसार पोखरा महानगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको हो। उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ।
यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित बाढी, पहिरो, डुबानलगायतका जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन नगरप्रमुख धनराज आचार्यले अनुरोध गरेका छन ।
महानगरपालिकाले ‘सुरक्षा नै पहिलो प्राथमिकता’ भएकाले सम्भावित जोखिमप्रति सचेत रहन र सुरक्षित रहन सबैमा आग्रह गरेको छ।