सुचना, समाचार र मनोरन्जन

५ लाखबाट सुरु भएको ‘बस्त्र कलेक्सन’ एक करोडको विस्तारमा

पोखरा,

करिब १२ वर्षअघि ५ लाख रुपैयाँको लगानीबाट सुरु भएको पोखराको ‘बस्त्र कलेक्सन’ले आफ्नो व्यवसाय विस्तार गरेको छ। चिप्लेढुंगाबाट सञ्चालन हुँदै आएको व्यवसायलाई सञ्चालक नवीन त्रिपाठीले सर्वेश्वर मार्गस्थित पन्थी गल्लीमा करिब एक करोड रुपैयाँको लगानीमा नयाँ तथा फराकिलो स्वरूपमा सञ्चालनमा ल्याएका हुन्।

पुरानो स्थान साँघुरो हुँदै गएको र ग्राहकको दायरा समेत बढ्दै गएपछि नयाँ स्थानमा व्यवसाय विस्तार गरिएको त्रिपाठीले बताए। नयाँ आउटलेटमा ग्राहकलाई सहज र व्यवस्थित वातावरणमा विभिन्न डिजाइन तथा विविधताका कपडा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सानो लगानीबाट सुरु भएको व्यवसाय १२ वर्षको निरन्तर यात्रापछि ठूलो आकारमा विस्तार हुनु ग्राहकको विश्वास, निरन्तर मेहनत र समयअनुसार व्यवसायलाई परिवर्तन गर्दै लैजाने क्षमताको परिणाम भएको त्रिपाठीको भनाइ छ।

उनले ठूलो लगानीबाट मात्रै व्यवसाय सफल नहुने भन्दै सानो सुरुवातलाई निरन्तरता दिँदै ग्राहकको आवश्यकता बुझेर अघि बढ्न सके व्यवसाय विस्तार गर्न सकिने बताए।

Gandarbha

व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध छन्। उनी राजनीति र पेशा–व्यवसायलाई अलग राख्नुपर्ने धारणा राख्छन्।

“राजनीति कमाइ खाने माध्यम बन्नु हुँदैन। आफ्नो जीवन चलाउने पेशा वा व्यवसाय छुट्टै हुनुपर्छ र राजनीतिलाई समाज तथा देशको सेवा गर्ने माध्यमका रूपमा लिनुपर्छ,” उनले भने।

युवाहरू राजनीतिमा प्रवेश गर्दा आफ्नै पेशा, सीप वा व्यवसायमा आत्मनिर्भर हुनुपर्ने त्रिपाठीको धारणा छ। आर्थिक रूपमा आत्मनिर्भर व्यक्तिले राजनीतिलाई आम्दानीको स्रोतभन्दा सार्वजनिक जिम्मेवारीका रूपमा लिन सक्ने उनले बताए।

नयाँ स्थानमा सरेसँगै बस्त्र कलेक्सनले कपडाका नयाँ डिजाइन र विविधता थप्नुका साथै ग्राहकको किनमेल अनुभवलाई सहज र सेवालाई थप व्यवस्थित बनाउने योजना अघि सारेको छ।

५ लाख रुपैयाँबाट सुरु भएको व्यवसायलाई १२ वर्षमा करिब एक करोड रुपैयाँको लगानीसहित विस्तार गरेका त्रिपाठीले युवाका लागि पेशामा आत्मनिर्भरता, व्यवसायमा निरन्तरता र राजनीतिमा सेवा भन्ने सन्देश दिएका छन्।

Leave A Reply

Your email address will not be published.