सुचना, समाचार र मनोरन्जन

फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरु

पोखरा,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक व्यावसायिक अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको छ। फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई–पोखरा नियमित उडान थालेसँगै निर्माण सम्पन्न भएको करिब चार वर्षपछि पोखरा विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु भएको हो।

फ्लाई दुबईको बोइङ ७३७ विमान बुधबार साँझ ६ बजेर १९ मिनेटमा पोखरा अवतरण गरेको थियो। दुबईबाट आएको विमानमा ११३ जना यात्रु पोखरा आएका थिए। पोखराबाट भने सोही दिन १५२ जना यात्रु लिएर विमान दुबई फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए।

१६६ यात्रु क्षमताको विमानमा पोखराबाट दुबई फर्किएका १५२ यात्रुमध्ये १४९ जना इकोनोमिक र तीन जना बिजनेस क्लासका थिए।

फ्लाई दुबईले हाल दैनिक पोखरा–दुबई उडान गर्ने जनाएको छ। सुरुमा तीन महिनाको टिकट बुकिङ खुलाइएको र यात्रुको चापका आधारमा थप तीन महिनाका लागि बुकिङ खोलिने नेपालस्थित फ्लाई दुबईका महाप्रबन्धक नवराज शाहीले बताए। छ महिनाको परीक्षणपछि उडानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने विषयमा निर्णय गरिने उनको भनाइ छ।

पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडानबाट पोखरा आएका यात्रुलाई पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्लगायत पर्यटन क्षेत्रका संघसंस्था र व्यवसायीले विमानस्थलमा खादा तथा मालासहित भव्य स्वागत गरेका थिए।

Gandarbha

पहिलो उडानबाट पोखरा आउने यात्रुमा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ तथा संगीतकार सुनिल थापालगायत रहेका थिए। नाट्टा गण्डकीले उनीहरूलाई सिङ्गिङ बाउल मायाको चिनो प्रदान गरेको थियो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएसँगै पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार भएको बताए। यसअघि पोखरा विमानस्थलमा विभिन्न अन्तर्राष्ट्रिय उडान भए पनि नियमित व्यावसायिक उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको सेवाले नयाँ सम्भावना सिर्जना गरेको उनको भनाइ छ।

दुबई विश्वका विभिन्न देशसँग हवाई सञ्जालमा जोडिएको प्रमुख ट्रान्जिट सहर भएकाले पोखरा–दुबई उडानले नेपालको पर्यटन बजार विस्तारमा सहयोग पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ। नेपाल पर्यटन बोर्डले समेत पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानलाई पोखराको पर्यटनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै यसको नियमितता र दीगोपनामा ध्यान दिनुपर्ने बताए। उडान सफल भए अन्य अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई समेत पोखरा विमानस्थलतर्फ आकर्षित गर्न सकिने उनको भनाइ छ।

यसैबीच, पहिलो उडानबाट पोखरा आएका पर्यटकलाई पोखरेली पर्यटन व्यवसायीले विशेष अफरसमेत दिएका छन्। इच्छुक पर्यटकका लागि एक रात निःशुल्क होटल बसाइ तथा प्याराग्लाइडिङको व्यवस्था गरिएको छ।

रानीवन अर्किड रिसोर्ट, टिका रिसोर्ट र गुडविल होटलले दुई महिनासम्म दैनिक दुईवटा कोठा निःशुल्क उपलब्ध गराउने जनाएका छन्। पर्यटन व्यवसायीले फ्लाई दुबईबाट पोखरा आउने पर्यटकलाई स्वागत गर्दै पोखरा–दुबई उडानलाई दीगो बनाउन संयुक्त रूपमा पहल गर्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.