पोखरा/
व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ ।
शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवर्द्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने भएको आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।
थाई बक्सिङ एक परम्परागत थाई खेल हो जसलाई “आठ अंगहरूको कला” (Art of Eight Limbs) पनि भनिन्छ। यसमा मुक्का, लात, कुहिनो, र घुँडाको प्रयोग गरी प्रतिद्वन्द्वीलाई पराजित गरिन्छ। यो खेल शारीरिक फिटनेस, सहनशीलता, र मानसिक अनुशासनलाई बढावा दिन प्रयोग गरिन्छ। थाई बक्सिङमा विशेष प्रकारको पारम्परिक संगीत प्रयोग गरिन्छ, जसलाई सारामा (Sarama) भनिन्छ। यो संगीतले खेलाडीलाई ऊर्जा प्रदान गर्ने र खेलको गतिलाई नियन्त्रण गर्ने काम गर्दछ।
प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा जुनियर/सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको बिजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको बिजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका बिजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । यसै गरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने संगै आवाशको सुविधा समेत दिइने आयोजकले जनाएको छ भने तीन जना इर्मजिङ खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ।
खेलस्थल बाराही घाटमा तय भएको प्रतियोगिता स्थलमा खेल संगै विभिन्न फुड स्टलहरु, फन गेम्स, निशुल्क फेस पेन्टिङको सुविधा समेत रहने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवै प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजे सम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।