काठमाडौं :
हिपहप गायक तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले आफ्ना तीन गीत चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन्। विभिन्न समयमा सार्वजनिक भए पनि धेरै चर्चा नपाएका गीतलाई पुनः ध्वनि सम्पादन (रि–मास्टर) गरेर आफ्नै युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याउने तयारी गरिएको स्रोतले जनाएको छ।
केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बालेनलाई ‘पूर्व र्यापर’ भनेर उल्लेख गरे पनि उनी अहिले पनि उत्तिकै सक्रिय हिपहप गायकका रूपमा संगीत क्षेत्रमा सक्रिय छन्। ठीक दुई महिनाअघि मात्रै उनले ‘आम नेपाली बुवा’ गीत सार्वजनिक गरेका थिए। उक्त गीत नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा समावेश छ र युट्युबमा राम्रो चर्चा पाएको छ।
प्रतिनिधिसभा चुनावको प्रचारका बेला उनका समर्थकहरूले ‘आम नेपाली बुवा’ गीतमा आधारित हजारौं भिडियो सामाजिक सञ्जालमा बनाएका थिए, जसले गीतलाई थप चर्चामा ल्याएको थियो।
अब बालेनका तीन गीत पुनः ध्वनि सम्पादन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ। तीमध्ये सन् २०२१ मा स्पोटिफाइमार्फत आएको ‘माया’ गीत पनि समावेश छ, जसमा बालेनसँगै गायिका त्रिशला गुरुङको स्वर रहेको छ।
त्यसैगरी, करिब चार वर्षअघि अडियो संस्करणका रूपमा युट्युबमा आएको ‘सबैलाई हतार छ’ गीत, जसमा रचना दाहालसँग सहकार्य रहेको छ, र ११ वर्षअघि बालेनकै युट्युब च्यानलमा अडियो रूपमा सार्वजनिक भएको ‘जय महाकाली’ गीतलाई पनि नयाँ ध्वनि गुणस्तरसहित पुनः ल्याउने तयारी गरिएको छ।
स्रोतका अनुसार ती सबै गीतलाई पुनः सम्पादन गरेर चाँडै दर्शक तथा श्रोतामाझ ल्याइनेछ।
३५ वर्षीय बालेन संगीत र राजनीतिलाई समान रूपमा अघि बढाइरहेका कलाकार–राजनीतिज्ञका रूपमा परिचित छन्। उनका ‘बलिदान’ र ‘साभेज’ जस्ता गीत सामाजिक सञ्जालमा व्यापक चर्चामा आएका छन्। विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उनले संगीतलाई युवापुस्तालाई सामाजिक तथा राष्ट्रिय मुद्दाप्रति सचेत गराउने माध्यमका रूपमा प्रयोग गर्दै आएको बताएका छन्।