काठमाडौं :
निर्देशक झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ। २ घण्टा ९ मिनेट लामो यो फिल्म ओएसआर युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
सन् २०२३ मा प्रदर्शनमा आएको यस फिल्ममा अभिनेता विपिन कार्की, अभिनेत्री सुहाना थापा र अभिनेता धीरज मगर मुख्य भूमिकामा छन्। विशेषगरी विपिन कार्कीले निर्वाह गरेको फरक पात्रले फिल्मलाई थप चर्चा दिलाएको थियो। उनले लैंगिक अल्पसंख्यक एलजीबीटीआईक्यू समुदायकी महिला कमला माईको भूमिकामा अभिनय गरेका छन्।
हल प्रदर्शनताका फिल्मले चर्चा र विवाद दुवै कमाएको थियो। फिल्मको सुरुवातमै कथा पवित्र हिन्दू धर्मग्रन्थ भागवद् गीतामा आधारित नरहेको अस्वीकरण समेत राखिएको छ।
फिल्मको कथा समाजमा हुने अन्याय, भेदभाव र नैतिक द्वन्द्व वरिपरि घुम्छ। कथामा भागवत नामको बालक र गीता नामकी युवतीको जीवनसँग जोडिएका घटनाहरू देखाइएका छन्। भागवत एक स्थानीय राजनीतिज्ञको छोरा हुन्छ भने गीता तेस्रो लिङ्गी समुदायसँग सम्बन्धित पात्रका रूपमा प्रस्तुत गरिएको छ।
फिल्मले विशेषगरी समाजका सीमान्तकृत समुदाय, खासगरी तेस्रो लिङ्गी समुदायको जीवन, उनीहरूको संघर्ष र उनीहरूमाथि हुने विभेदलाई उजागर गर्ने प्रयास गरेको छ। साथै अन्याय र भ्रष्टाचारविरुद्ध उभिने साहस, सही–गलतबीचको संघर्ष र मानवीय सम्बन्धलाई पनि कथामा समेटिएको छ। अभिनेत्री सुहाना थापा नै यस फिल्मकी निर्माता हुन्। हल प्रदर्शनपछि अहिले फिल्म युट्युबमार्फत दर्शकका लागि उपलब्ध भएको हो।