काठमाडौं :
आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको हो।
मेयर बालेन शाहकै ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ। कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ।
बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो। ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङको संज्ञा दिएको छ। यो गीतले फिल्मको हाइप थप बढाएको छ। फिल्म ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो।
फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको फिल्म हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो फिल्ममा ‘सक्किगोनि’ टिमको छ। ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
‘सक्किगोनि’ टिमले बनाएको यो फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल,हरिष निरौला,प्रियाना आचार्य,विजय बराल,महेश त्रिपाठी,अर्पण थापा,रेणु योगी, विजय लामा,मुकुन्द श्रेष्ठ,माला लिम्बूलगायत कलाकारको अभिनय छ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता,राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।