काठमाडौं :
छायांकनका बेला अनेक झमेला व्यहोर्दै आएको फिल्म ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ। घोषणादेखि नै चर्चामा रहदै आएको फिल्मको निर्माण टिमले हिजो सुटिङ सकेको हो।
फिल्मको सुटिङ सकिएपछि निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट फिल्म निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन विभिन्न चरण पार गर्दै सकिएको जानकारी दिएका छन्। शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो।
निर्देशक सेनका अनुसार, ‘बलिदान’ लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । सेनले भने, “कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट – हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक, र भावनात्मक रूपमा धेरै सङ्घर्ष ग¥यौँ, तर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ।’
निर्माण टोलीको मेहनतबारे बोल्दै उनले चार महिनासम्म रातदिन रगत–पसिना बगाएर मेहनत गरेको बताए।
‘यस चलचित्रको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ,’उनले भने,‘त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन। म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ।’

उनले यो फिल्ममार्फत देशका लागि केही गर्ने जोस र हुटहुटीले बढेको बताए। उनले अथाह मेहनतले फिल्म निर्माण गरेको जानकारी दिदै दर्शकले आफुलाई पनि साथ दिने विश्वास व्यक्त गरे।
उनी भन्छन्,‘आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ। कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौँ र छायाङ्कनको चरणलाई बिट मा¥यौँ।’
निर्माण टिम अब यस फिल्मको सम्पादन कार्यसँगै पोस्ट प्रोडक्सनको काममा लाग्ने छ। उनले यसमा पनि कुनै सम्झौता नगर्ने बताएका छन्। यो फिल्मको छायांकन सकिएता पनि कहिलेबाट हलमा लाग्छ भन्ने कुरामा उनले जवाफ दिएका छैनन्। अरु निर्माता तथा निर्देशकले छायांकन नजाँदै फिल्मको रिलिज मिति घोषणा गर्दै आएका छन्। तर सन्तोषले आफुलाई पुर्ण रुपमा फिल्मको काम सकेपछि मात्रै फिल्मको रिलिज मिति तोक्ने मनसायमा रहेका छन्।
उनले भने,‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ।’
फिल्ममा अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल,अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ। दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेको यो फिल्मको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थिया।
फिल्ममा गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ’बलिदान’का गीत,सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ। ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माताको भूमिकामा छन्।