सुचना, समाचार र मनोरन्जन

निर्देशक सेन : ‘बलिदान’मा मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ

काठमाडौं :

असोज १३ गते (फूलपाती) देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट विश्वास व्यक्त गरेका छन्। उनका अनुसार फिल्म केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको माया झल्काउने कृतिको रूपमा प्रस्तुत भएको छ।

“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको धैर्य र मेहनतपछि तयार भएको यो फिल्मले दर्शकलाई देश र आमा प्रतिको भावना अनुभूति गराउनेछ,” सेनले बताए।

उनका अनुसार फिल्ममा राजनीतिक कुटिलताले आम जनतालाई कसरी प्रयोग गर्छ भन्ने सन्देश पनि समावेश छ । उनले फिल्मको मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा रहेको दाबी गर्दै भने, “फिल्म हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”

गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले फिल्मप्रतिको उत्सुकता बढाएको छ। ट्रेलरमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकार फरक अवतारमा देखिएका छन्। दमदार संवाद, द्वन्द्व दृश्य र ब्याकग्राउन्ड स्कोरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । यसअघि सार्वजनिक शीर्ष गीत ‘यो ज्यान बलिदान’ समेत जनमानसमा लोकप्रिय बनेको छ।

‘आशुसेन फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीलगायत कलाकारको अभिनय देख्न पाइनेछ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। निर्माण टिमले ‘बलिदान’लाई नेपाली फिल्म इतिहासमै साहसी कदमका रूपमा दर्शकले स्मरण गर्ने विश्वास व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.