सुचना, समाचार र मनोरन्जन
tigar

अन्तर्राष्ट्रिय बेलून महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा/

साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा पहिलो पटक BYD अन्तर्राष्ट्रिय बेलून महोत्सव आयोजना हुने भएको छ। पोखरा पर्यटन परिषद र बेलून नेपाल प्रा.लि.को संयुक्त आयोजनामा पौष ९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १) सम्म फेवा फाँटमा सञ्चालन हुने यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपालसहित अमेरिका, वेलायत, स्पेन, थाइल्याण्ड, कोरिया, फ्रान्स, अष्ट्रेलिया, जापान लगायत १५ देशका अनुभवी बेलून पाइलटहरूले महोत्सवमा आफ्नो सहभागिता जनाउनेछन्। बिहान ६:०० देखि ९:०० सम्म हट एयर बेलून उडान र बेलुका ७:०० देखि ८:०० सम्म बेलून नाइट ग्लो कार्यक्रम महोत्सवको मुख्य आकर्षण हुनेछ।

सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरू दीपक बज्राचार्य, एलिना चौहान, राजु लामा, कविता नेपाली, र काट्न क्रूजजस्ता कलाकारका सांगीतिक प्रस्तुति, बेली नृत्य, तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। साथै, क्रिसमस इभ, कुमारी नृत्य, र सूर्यास्त–सूर्योदयका मनमोहक दृश्यसहित आगो खेल प्रदर्शन विशेष आकर्षण बन्नेछन्।

पर्यटन प्रवर्द्धनमा महोत्सवको भूमिका

महोत्सवले पोखराको साहसिक खेलकुद र प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै यस क्षेत्रलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न थप योगदान दिने अपेक्षा गरिएको छ। ब्रान्ड एम्बासडरका रूपमा चर्चित कलाकार राजेश हमाल र प्रियंका कार्कीले महोत्सवको गरिमा थप बढाउनेछन्।

sfal

निशुल्क सटल बस र विविध सेवा सुविधाहरू

दर्शकहरूको सुविधाका लागि डिहिकोपाटनदेखि महोत्सव स्थलसम्म निशुल्क सटल बसको व्यवस्था गरिएको छ। फुड स्टल, मेला, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत महोत्सवको आकर्षण हुनेछन्।

सहकार्य र प्रायोजन

महोत्सवलाई सफल बनाउन पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, र अन्य संघसंस्थाहरूले सहकार्य गरेका छन्। प्रमुख प्रायोजक BYD रहेको यस महोत्सवमा क्रिजम्याटिक इन्टरटेन्मेन्टको व्यवस्थापन, चरक मेमोरियल अस्पतालको स्वास्थ्य सेवा, र वर्ल्ड लिंक, यति एयरलाइन्स, पठाओलगायतका संस्थाहरूको साथ रहनेछ।

उद्घाटन समारोहमा विशेष झाँकी प्रदर्शन

पुष ९ गते उद्घाटन समारोहका अवसरमा भकुण्डेदेखि विभिन्न जनजातिका भेषभूषा झल्काउने झाँकी प्रस्तुत गरिनेछ। महोत्सवले साहसिक खेलकुदका माध्यमबाट पोखराको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

निरन्तर साथको अपिल

पोखराका स्थानीय संघसंस्था, सञ्चारमाध्यम, र आम समुदायलाई महोत्सवलाई भव्य र सफल बनाउन निरन्तर साथ दिन आयोजकले आग्रह गरेको छ।

(BYD)अन्तर्राष्ट्रिय बेलून महोत्सव – पोखरालाई साहसिक खेलकुदको राजधानी बनाउन महत्वपूर्ण कदम हुने आयोजकको दावी छ ।

Leave A Reply

Your email address will not be published.