Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन,मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
- डोकोमा घाँस बोकेर सडक–सडक डुल्दै ‘गौँथली’ सिम्रन
- ‘हिमालयन इन्टरनेसनल अवार्ड’ मा अमर वान्तु र हरि ढुङ्गेललाई ‘दीर्घसाधना सम्मान’ प्रदान
- आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर
- भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली
- दीपाको‘ब्रेन ट्युमर’को शल्यक्रिया सफल, आइसियूबाट जनरल वार्डमा सारियो
- ‘गौँथली’को अमेरिका राइट्स सेभेन सिसले किन्यो, प्रदर्शन मिति तय
- बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
- नयाँ शैक्षिक कन्सल्टेन्सी नियमावलीविरुद्ध व्यवसायी एकजुट, आन्दोलनको चेतावनी
- कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
सडक किनारका जोखिमयुक्त रुख हटाउँदै चितवन वन कार्यालय
चितवन,
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ । आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुपमा पहिचान गरिएका रुख कटान थालिएको हो ।
देवघाट क्षेत्र विकास समितिले १० वर्षअघिदेखि निरन्तर रुपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका २५ वटा रुख कटान सुरु गरिएको छ । सो सडकमा रहेका ६२ वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सो सडक खण्डका १० वटा रुख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो । नियमित प्रक्रियाअन्तर्गत ती रुख कटान गरिएका हुन् । अन्य रुखको हकमा वन नियमावली २०७९ को तेस्रो संशोधनको नियम ३६ को उपनियम ६ अनुसार जङ्गलभित्रको बाटो, विद्युत्, टेलिफोन टावर, हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगाबिँगा वा रुखै हटाउनसक्ने व्यवस्थाअनुरुप कटान सुरु गरिएको हो ।
थप रुख पनि अध्ययन गरी कटान गरिने उहाँले जानकारी दिनुभयो । वैशाख महिनाभित्रमा देवघाट क्षेत्र विकास समितिले रुख कटान गरी वन कार्यालयलाई बुझाउने र जेठ महिनामा ती काठ बोलपत्र आह्वान गरी बिक्री गरिनेछ ।
धार्मिक महत्व बोकेको देवघाट आवतजावत गर्ने सडकमा रुख परेपछि आवतजावतमा कठिनाइ भएको थियो । कतिपय रुख जुनसुकैबेला ढल्नसक्ने अवस्थामा रहेका थिए । ती रुख बरण्डाभार वन क्षेत्र र सतनचुली एवं जलदेवी सामुदायिक वनमा पर्दछन् ।
पूर्वपश्चिम राजमार्गको टिकौली क्षेत्रमा, भरतपुरदेखि कालिका नगरपालिका जाने भोजाडदेखि हरिपुर पोष्टसम्म र लामाटोलदेखि पदमपुरसम्मका सडक किनारका जोखिमयुक्त, रुख पहिचानको काम सुरु गरिएको छ । सो क्षेत्र वरण्डाभार र नवजागृति सामुदायिक वनमा पर्दछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अगाडिको खगेरी नहरमा रहेको रुख कटानका लागि अनुगमन सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा वन कार्यालयले वैशाखभित्रमा जोखिम रहे नरहेको अध्ययन गरी जोखिमयुक्त भएमा कटानका लागि प्रक्रिया अगाडि बढाउने आचार्यले बताउनुभयो । उहाँले सडक छेउ र अन्य जोखिम क्षेत्रमा रहेका रुखलाई प्रचलित कानुनबमोजिम हटाइ जोखिम न्यूनीकरणमा वन कार्यालय लागेको बताउनुभयो ।