सुचना, समाचार र मनोरन्जन

‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा : दयाहाङ र विजयको टकराब

काठमाडौं :

अभिनेता दयाहाङ राई ले आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ लाई स्थापित र उदाउँदै गरेका व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन्।

दयाहाङका अनुसार चलचित्रले इज्जत, प्रतिष्ठा र वरिष्ठता जोगाउन खोज्ने व्यक्ति र त्यसै स्थानमा पुग्न चाहने नवउदाउँदो पात्र बीचको टकराबलाई देखाउँछ। उनले भने, “मान्छे जस्तो भए पनि आवरणमा भने आफूलाई प्रतिष्ठित र वरिष्ठ देखाउन चाहन्छ। यो चलचित्रमा त्यही मानवीय स्वभाव प्रस्तुत गरिएको छ।”

चलचित्रमा दयाहाङले स्थापित पात्रको भूमिका निभाएका छन् भने उनलाई चुनौती दिने पात्रमा अभिनेता विजय बराल देखिएका छन्। विजयले पनि चलचित्रलाई सामान्य व्यक्तिबाट वरिष्ठ बन्ने चाहना र सोचबीचको टकराबको कथा भएको बताएका छन्।

विजयले आफूलाई चलचित्रमा ‘बले’ भनेर चिनाइएको जानकारी दिँदै भने, “वरिष्ठ बलराम को हो भन्ने कुरा सिनेमा रिलिजपछि मात्रै खुल्नेछ। तर चलचित्रमा मलाई बले भनिएको छ।”

दयाहाङसँगको स्क्रिन टकराबबारे विजयले भने, “दयाहाङ दाइ अग्रज हुनुहुन्छ, त्यसैले सुरुमै केही अड भए पनि उहाँले सहज बनाउनुभयो। उहाँले भने– चरित्रका हिसाबले सोच, व्यक्ति होइन। त्यसपछि सहज भएर काम गर्न सकियो।”

दयाहाङले पनि सेटमा ‘सिनियर-जुनियर होइन, चरित्रको संसार’ मात्रै हुने बताए। उनले ‘दासढुंगा’ फिल्ममा अनुप बरालसँग काम गरेको अनुभव सुनाउँदै भने, “गुरु–चेला होइन, चरित्रको भुमिकामा बाँच्न सक्नुपर्छ।”

चलचित्रकी नायिका समृद्धि अर्याल ले आफू शो पिस मात्रै नभई कथाको महत्वपूर्ण पात्र भएको बताइन्। “दुई लिड पात्रबीचको कथा भए पनि मेरो भूमिकाले दुवैमा प्रभाव पार्छ,” उनले भनिन्, “यो चलचित्रले मेरो करियरमा पनि नयाँ उचाइ ल्याउनेछ।”

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते (भाइटीका) मा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। कथा र सम्पादन निर्देशक पौडेलकै रहेको चलचित्रको पटकथा महेश दवाडी ले लेखेका छन्।

चलचित्रमा मनकृष्ण महर्जन को छायांकन, प्रशान्त शिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ। काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसन मार्फत चलचित्र वितरण हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.