काठमाडौँ :
वर्षा राउत र खगेन्द्र लामिछाने अभिनित नयाँ नेपाली फिल्म ‘हर्ष’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। एकता पौडेलको डेब्यु निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको दुई दिनअघि गरिएको प्रिमियर शोमै सकारात्मक प्रतिक्रिया बटुलेको थियो।
देशभर करिब १०० शो मा प्रदर्शनमा आएको ‘हर्ष’ले पारिवारिक कथावस्तुलाई केन्द्रमा राखेर अघि बढ्छ। बुधबारको प्रिमियरमा निर्देशक स्वर्गीय शिव रेग्मीको फ्लेभर महसुस गरिएको प्रतिक्रियाले समेत फिल्मप्रति उत्सुकता बढाएको छ। निर्देशक पौडेल रेग्मीकी भान्जी हुन्।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेका साथै आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी पौडेलले यसअघि केही छोटा चलचित्र निर्देशन तथा निर्माण गरिसकेकी छन्।
फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतसँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित तथा बालकलाकार साइमन वादीको अभिनय रहेको छ।
सिनेमामा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन, र सुनिल क्षेत्री तथा निर्देशक पौडेलको कोरियोग्राफी समावेश छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेको हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन्। प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा जिम्मेवारीमा छन्।