जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।
विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।
कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।
कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।
कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
यसैगरी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद हुमागाइँले जानकारी दिए ।
यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो ।