सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन २०८२ स्वीकृत गर्नुभएको हो ।
मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउने बाटो खुलाएको छ ।
स्टील र कङ्क्रिटमा आधारित निर्माण प्रविधि महँगो, पर्यावरणमा नकारात्मक प्रभाव पार्ने, ग्रामीण क्षेत्रमा निर्माण सामग्रीको सीमित पहुँचका कारण सस्तो र वातावरणमैत्री संरचनाको महत्त्व बढ्दै गएको छ ।
परम्परागत रूपमा प्रयोग हुँदै आएको ग्रामीणस्तरमै उपलब्ध हुने बाँसलाई निर्माण सामग्रीका रूपमा प्रयोग गर्न प्रोत्साहन र प्रवर्द्धन गर्न मार्गदर्शनले जोड दिएको मन्त्री घिसिङले बताए ।
मार्गदर्शन निर्मणका क्रममा शहरी विकास तथा भवन निर्माणका प्राविधिकसहित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र थापाथली क्याम्पस, नेपाल गुणस्तर तथा नापतौल विभाग र मदन भण्डारी विश्वविद्यालयमा परीक्षण गरिएको थियो ।
बाँसजन्य निर्माण समाग्री प्रवर्द्धनका लागि नीतिगत व्यवस्थाको मागसहित खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघर मण्डलामा सत्याग्रह बस्नु भएको थियो ।