काठमाडौँ,
अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातको समयमा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।

बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । बाढी, पहिरो र डुबान जस्ता जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न रातको समयमा राजमार्ग बन्द गरिएको धादिङका प्रजिअ लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।