सुचना, समाचार र मनोरन्जन

तनहुँ म्याग्दे काङ्ग्रेसमा रमेश क्षेत्री उपसभापतिमा सर्वसम्मत

नयाँ पुस्ता र विचारको राजनीतिमा जोड, बाबुछोराको जम्काभेट राजनीतिक वृत्तमा चर्चाको विषय

पोखरा,

नेपाली काङ्ग्रेस तनहुँको म्याग्दे गाउँपालिकाको १५ औँ महाधिवेशनअन्तर्गत असोज ७ गते बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट रमेश क्षेत्री उपसभापति पदमा सर्वसम्मत निर्वाचित भएका छन्। लामो समयदेखि पार्टी सङ्गठन, आन्तरिक लोकतन्त्र र स्थानीय विकासमा निरन्तर क्रियाशील क्षेत्रीको यो चयनले म्याग्दे कांग्रेसभित्र नयाँ ऊर्जा र उत्साह थपेको छ।

यस पटकको महाधिवेशनमा रमेश क्षेत्रीको उपसभापति पदमा भएको सर्वसम्मत चयन मात्र होइन, उनी र उनका २१ वर्षीय छोरा रुपेश क्षेत्रीको राजनीतिक यात्रासमेत विशेष चासो र चर्चाको विषय बनेको छ। म्याग्दे गाउँपालिका २ बाट बुबाछोरा दुवै जना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। २१ वर्षीय रुपेश सम्भवतः म्याग्दे गाउँपालिकाकै सबैभन्दा कान्छा ‘जेनजी’ समूहका क्षेत्रीय प्रतिनिधि हुन्। पाका र अनुभवी नेतृत्वसँगै नयाँ पुस्ताको यो समावेशिताले बाबुछोराको राजनीतिक यात्रालाई निकै गज्जब र प्रेरणादायी बनाएको छ।

आफ्नो नयाँ जिम्मेवारीबारे बोल्दै क्षेत्रीले भने, “सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा पार्टीलाई अझ एकताबद्ध, सुदृढ र जनमुखी बनाउन म इमानदारीपूर्वक खट्नेछु।”

उपसभापतिमा सर्वसम्मत चयन भएपछि रमेश क्षेत्रीले नेपाली काङ्ग्रेसका सम्पूर्ण वडा प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।१५ औँ महाधिवेशनलाई भव्य र निष्पक्ष रूपमा सम्पन्न गराउन भूमिका खेल्ने सभापतिसहित सम्पूर्ण आयोजक टोली तथा प्रतिस्पर्धामा उत्रिएका र पराजित भएका साथीहरूलाई पनि उनले सम्मानपूर्वक धन्यवाद दिएका छन् ।

अधिवेशनका क्रममा क्षेत्रीले प्रस्तुत गरेको वैचारिक दृष्टिकोण र धारणालाई महाधिवेशन प्रतिनिधिहरूले उच्च मूल्याङ्कन गरेका छन्। पद र गुटको तत्कालको राजनीतिक समीकरणभन्दा माथि उठेर आगामी पाँच वर्षमा नेपाली काङ्ग्रेसलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका कोर्नुपर्नेमा उनको जोड थियो।

पार्टीभित्र बढ्दो अहङ्कार र गुटबन्दीप्रति कडा टिप्पणी गर्दै उनले भने “कसैको दबाबमा परेर आफ्नै सहकर्मीलाई सानोठूलो देखाउने वा ‘मबाहेक कोही छैन‘ भन्ने अहङ्कारले पार्टी बलियो हुँदैन। पार्टी कसैको निजी जागिर वा बपौती होइन। पद र पहुँच अस्थायी हुन्, तर मानिसको राजनीतिक संस्कार र व्यवहारको मूल्याङ्कन सधैँ हुन्छ। इतिहास कुनै एक व्यक्तिको नाममा होइन, सामूहिक योगदानले लेखिन्छ।”

उनले दबाबमा नजुकिकन, आलोचना सुन्ने र फरक विचारलाई सम्मान गर्ने परिपाटी नै सच्चा नेतृत्वको पहिचान भएको स्पष्ट पारेका थिए । क्षेत्रीले सबै भूगोल, समुदाय र क्षेत्रको प्रतिनिधित्वलाई सम्मान गर्दै पार्टीमा नयाँ पुस्ता तथा युवाहरूको सहभागिता बढाउनुपर्ने बताए । उनकाअनुसार अबको नेपाली काङ्ग्रेसले तत्कालको पदभन्दा पाँच वर्षपछिको सङ्गठनको संस्थागत भविष्यलाई हेर्नुपर्छ।वडा र स्थानीय तहसम्म पुगेर जनताका वास्तविक समस्यासँग पार्टीलाई जोड्नुपर्छ।आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टतालाई पहिलो प्राथमिकता दिनुपर्छ।

नेपाली काङ्ग्रेस म्याग्दे २ का निवर्तमान वडा सभापति, हालका निर्वाचित वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिका रूपमा लामो अनुभव हासिल गरिसकेका रमेश क्षेत्री र ‘जेनजी’ पुस्ताका प्रतिनिधि उनलका छोरा रुपेश क्षेत्रीको यो सहयात्राले म्याग्देमा युवा र अनुभवको सुन्दर संगम प्रस्तुत गरेको छ।

Leave A Reply

Your email address will not be published.