काठमाडौँ :
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको ‘बेला बितेसी’ शीर्षक गीत मंगलबार सार्वजनिक गरिएको हो।
गीतमा शब्द, संगीत र स्वर प्रकाश सपुतकै रहेको छ भने मिक्सिङ र मास्टरिङ श्यामस्वेत रासाइलीले गरेका छन्। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्। रोमान्टिक शैलीको उक्त गीतमा सपुत र खड्काबीचको प्रेम प्रस्तुत गरिएको छ। गीतको छायांकन पवन सुस्लिङले गरेका हुन्।
यसअघि सार्वजनिक चलचित्रका पोस्टरहरूले दर्शकको ध्यान तानेका थिए। अब सार्वजनिक भएको गीतले पनि दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्ने अनुमान गरिएको छ।
दशैँको फूलपाती (असोज १३) गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दिपेन्द्र के खनालको निर्देशनमा तयार गरिएको हो। चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको अभिनय रहेको छ।
एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। चलचित्रको छायांकन कृष्णबहादुर थापा र सम्पादन नकुल खड्काले गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईँको स्वर समावेश गरिएको छ।