काठमाडौँ ।
नेपाली चलचित्र बजारमा आगामी भदौ २६ गते एउटा गज्जबको त्रिकोणात्मक भिडन्त देखिने भएको छ। हरितालिका तीज र कुशे औँशी (बुबाको मुख हेर्ने दिन)को पावन अवसरलाई लक्षित गर्दै तीनवटा प्रतिक्षित फिल्महरू एकैदिन प्रदर्शनमा आउने भएका छन्।
स्टार निर्देशिकाको बहुप्रतिक्षित पुनरागमन, युवा पुस्ताको विद्रोही प्रेमकथा र सामाजिक दबाबका बीच पिसिएको सम्बन्धको कथा बोकेका फिल्महरूले भर्खरै आफ्नो प्रदर्शन मिति र पोस्टर सार्वजनिक गरेपछि यतिबेला सिनेवृत्त तातेको छ।
भदौ १२ गते प्रदर्शनमा आउने भनिएको फिल्म ‘बेहुली’ सरेर भदौ २६ गते पुगेपछि तीन वटा फिल्म एक साथ प्रदर्शनमा आउने भएको हो। त्यस कारण पनि भदौ २६ निकै विशेष रहेको देखिन्छ। किनभने यो महाभिडन्तमा उत्रिन लागेका तीन फिल्म र तिनका विशेषताहरू यसप्रकार छन्।
८ वर्षपछि रेखा थापाको निर्देशनमा पुनरागमनमा ‘माया भनेकै यस्तो होला’
नेपाली फिल्म उद्योगकी प्रभावशाली अभिनेत्री एवं निर्देशिका रेखा थापा झण्डै ८ वर्षपछि निर्देशनमा फर्किएकी छन्। यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको निर्देशनमा बनेको तेस्रो फिल्म हो।
रिच, एप्पल र एफडी कम्पनीले वितरणको जिम्मा लिएको यस फिल्ममा रेखा पर्दा अगाडि नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित छिन्। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा नेपाली कला क्षेत्रका दिग्गज मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठका साथै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र विशेष भूमिकामा उषा खड्गी जस्ता स्टारहरूको ठूलो लाइनअप छ। तीज र बुबाको मुख हेर्ने दिनको विशेष माहौलमा यो फिल्म दर्शकका लागि मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ।
कुलव्बाई र दिव्याको ‘बेहुली’
तीजकै अवसर पारेर सोही दिन प्रदर्शनमा आउन लागेको अर्को फिल्म हो— ‘बेहुली’। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यस फिल्मले सोमबार काठमाडौँमा एक विशेष समारोहका बीच आफ्नो पोस्टर सार्वजनिक गर्दै माहौल तताएको छ।
भदौ १२ गते प्रदर्शनमा आउने भनिएको फिल्मलाई निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै २६ गते पुर्याएको हो। पोस्टरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) हातमा हतकडी र अनुहारमा चोटसहित तथा अभिनेत्री दिव्या रायमाझी दुरुस्तै रातो बेहुली पहिरनमा मिडियासामु प्रस्तुत भएर सबैको ध्यान खिचेका थिए।
पोस्टरमा हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको भावनात्मक आलिङ्गनले सिनेमाभित्रको गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्व र सशक्त प्रेमको कथा बोल्छ। ‘होस्टेल ३’ पछि पुनः एकसाथ सहकार्य गरेका निर्देशक सशान कँडेल र लेखक माधव शर्माको जोडीले यस फिल्मलाई आकार दिएका हुन्। कुलव्बाई सामाजिक सञ्जाल तथा टिकटकमा निकै रुचाइएका कलाकार हुन् भने दिव्याले केहि फिल्ममा काम गरिसकेकी छन्। उनले अभिनय गरेको फिल्म भने असफल भएका थिए।
सम्बन्धको खटपट र सामाजिक दबाब ‘अक्षरा’
भदौ २६ कै मितिमा प्रदर्शन तय गरेको तेस्रो फिल्म हो— ‘अक्षरा’। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्का रहेका छन्। विनय राज पौडेलको निर्देशन र निर्माता उग्रसेन ढुङ्गानाको मूल कथा रहेको यस चलचित्रलाई झण्डै डेढ महिना लगाएर खिचिएको थियो।
बक्स अफिसमा कसले मार्ला बाजी ?
एउटै मितिमा तीनवटा भिन्न स्वादका फिल्म दर्शकहरुमाझ आउने भएपछि दर्शकहरूलाई विकल्प नै विकल्प मिलेको छ भने हल सञ्चालक र वितरकहरूलाई व्यापार व्यवस्थापनको चुनौती थपिएको छ। एकातिर रेखा थापाको निर्देशन र मदनकृष्ण श्रेष्ठसहित पूर्व मिस नेपालहरूको महाकुम्भ रहेको ‘माया भनेकै यस्तो होला’, अर्कोतिर युवापुस्तामाझ क्रेज भएका पारस र दिव्याको ‘बेहुली’ र अर्कोतर्फ सम्बन्धको गम्भीर सामाजिक कथा बोकेको सुशील र न्यान्सीको ‘अक्षरा’।
तीनैवटा फिल्म आ–आफ्नो ठाउँमा सशक्त र प्रतीक्षित छन्। चाडबाडको उल्लासमय माहौलमा नेपाली फिल्मको यो ऐतिहासिक त्रिकोणात्मक भिडन्तले बक्स अफिसलाई कति चलायमान बनाउने हो र दर्शकको मन कसले जित्ने हो, त्यो भने भदौ २६ गते नै थाहा हुनेछ।