काठमाडौँ :
नेपाली चलचित्र ‘भागदौड’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको दुई मिनेट लामो व्यावसायिक ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, सङ्घर्ष र यथार्थलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
यसका साथै आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता प्रवृत्तिहरूबाट उत्पन्न हुने नैतिक सङ्कटको कथालाई चलचित्रले उठान गरेको सङ्केत ट्रेलरले दिएको छ। विशेष गरी चलचित्रको मुख्य भूमिकामा देखिएका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा फिट देखिएका छन् भने आफ्नो चरित्रले दर्शकलाई ‘सरप्राइज’ दिने दाबी अभिनेता पोखरेलको छ। चलचित्रमा विशालका साथै अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र यही असार २६ गते शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको यस चलचित्रको सेन्सर प्रक्रिया समेत पूरा भइसकेको छ। सेन्सर बोर्डबाट पाएको सकारात्मक प्रतिक्रिया र तारिफले निर्माण टिम निकै उत्साहित देखिएको छ भने प्रस्तुतकर्ता विष्टले ‘भागदौड’ नपत्याउने खोलाले बगाउँछ भने जस्तै निकै उत्कृष्ट र दर्शकले रुचाउने खालको बनेको दाबी गर्नुभएको छ।
अङ्गिरा थापा कार्यकारी निर्माता रहेको यस चलचित्रका सह-निर्माताहरूमा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहनुभएको छ। सुप्रिम म्युजिक एन्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको सङ्गीत रहेको छ।