Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद: ‘नेपाल एक्लो छैन, पुनर्निर्माणमा सघाउँछु’
- बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको आर्थिक सहयोग
- ‘अहिले उत्सव होइन साथ चाहिएको छ’ भन्दै रचना रिमाल फर्किँदै स्वदेश
- रुसको अन्तर्राष्ट्रिय सिर्जनशील उद्योग संवादमा बटरफ्लाइ फिल्म्समार्फत नेपालको प्रतिनिधित्व
- बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे ‘बल्छी धुर्बे’सहित जुठे र हल्का रमाइलोका कलाकार
- ‘अब पालो युवाको’ : व्यवसायको मैदानबाट नेतृत्वको यात्रामा सौगात
- बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोग लिएर पुगिन अक्षराकी न्यान्सी खड्का
- गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त
- भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
- पोउवासंघ सदस्यमा दिलीपकुमार श्रेष्ठ: अनुभव र व्यावसायिक निष्ठाको उम्मेदवारी
भानु साहित्य उद्यानको काम अगाडि बढ्यो
तनहुँ,
आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम अगाडि बढेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम सुरु भएको हो ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा सहरी विकास मन्त्रालयबाट विनियोजित रु २० करोडमध्ये पहिलो चरणको ठेक्का प्रक्रियाका लागि सहरी विकास मन्त्रालयका महानिर्देशकसहितको प्राविधिक टोलीले यहाँको स्थलगत अवलोकन गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राविधिक टोलीले करिब तीन दशमलव पाँच किलोमिटर मोटरमार्ग स्तरोन्नति, भानु शालिक उद्यान पुनर्निर्माण, रम्घाडाँडामा भानुभक्तको विशाल प्रतिमा निर्माण लगायतका स्थलको अवलोकन गरेको छ । भानु साहित्य उद्यान निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको विशेष भूमिका रहेको भन्दै त्रिपाठीले भन्नुभयो, “भानु साहित्य उद्यानलाई राष्ट्रिय गौरवको आयोजना एवं बहुवर्षीय योजनामा समावेशका लागि पहल गरिरहेका छौँ ।”
उद्यान निर्माणका निम्ति हालसम्म ४०० रोपनीभन्दा बढी जग्गा अधिग्रहण भइसकेको छ । चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्यसहित साहित्यिक उद्यान निर्माण प्रक्रिया सुरु गरिएको त्रिपाठीको भनाइ छ । विगतमा जग्गा अधिग्रहणको काम सुरु भए पनि कामले गति लिन नसकेको भन्दै त्रिपाठीले भन्नुभयो, “नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई सप्तधामको रुपमा विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौँ ।”
सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।”
साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।
रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालीन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्नु यसको उद्देश्य रहेको त्रिपाठीको भनाइ छ ।
भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ ।