काठमाडौं :
पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने नेपाली सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । यससँगै अब यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
सेन्सर बोर्डका पदाधिकारीबाट सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिए । २ घण्टा १९ मिनेट लामो यो सिनेमाले मनोरञ्जनसँगै गहिरो सामाजिक सन्देश दिने बुझाइ सेन्सर बोर्डको रहेको उनले बताए । हालै नेपालमा घटेका वास्तविक घटनाबाट प्रेरित कथावस्तुले गम्भीर विषयलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको भन्दै बोर्डले प्रशंसा गरेको निर्देशक घिमिरेको भनाइ छ ।
यस सिनेमामा समावेश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको गीत ‘आम नेपाली बुबा’ ले दर्शकमाझ उल्लेखनीय चर्चा बटुलिरहेको छ । गत सोमबार सार्वजनिक उक्त गीतले सिनेमाप्रति दर्शकको उत्साह बढाएको र यसको प्रभाव बक्सअफिसमा देखिने अपेक्षा निर्माण टिमको छ ।
सेन्सर पाससँगै सिनेमाको अग्रिम टिकट बुकिङ पनि खुला गरिएको छ । समाचार तयार पार्दासम्म देशका ठूला मल्टिप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज लगायतले अग्रिम टिकट बिक्री सुरु गरिसकेका छन् ।
सुरुवाती चरणमा क्युएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शो गरी कुल २२ शो दिएको छ। यस्तै, आईएनआईले ६ शो, बिग मुभिजले २ शो र एफक्युब सिनेमाजले २ शोसहित देशभर करिब ५९ शोमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ। अन्य हलका शो बिहीबार साँझसम्म सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि अभिनयमा फर्किएका छन्। सिनेमाको छायांकनका लागि उनी अमेरिका बाट नेपाल आएका थिए।
सिनेमामा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतको अभिनय रहेको छ।
यसैगरी, कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले यसै सिनेमाबाट डेब्यू गरेका छन् भने बाल कलाकार दिप्सन चिलवालको पनि अभिनय रहेको निर्माण कम्पनीले जनाएको छ। सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथामा बनेको सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । सिनेमाका छायाकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता रहेका छन्। लाइन प्रोड्युसरको जिम्मेवारी योगेश खतिवडा र विनोद कँडेलले सम्हालेका छन्।