सुचना, समाचार र मनोरन्जन

चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन,

भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ ।

भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्ननगर खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा ९ओपिडी० सञ्चालन गर्ने योजनाअघि बढाएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरेको छ ।

बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै काम अघि बढाउँछौँ ।”

उहाँले सात पालिकाका प्रमुख तथा उपप्रमुखसँग आवश्यक छलफल अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा हामी दिँदैछौँ ।” उक्त अस्पतालमा प्राथमिक र विशेषज्ञ सेवा दिने भन्दै उहाँले भरतपुर अस्पतालले अति विशिष्टिकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्ने बताउनुभयो ।

डा बगालेले पालिकाको लगानीमा सञ्चालन भएका अस्पतालमा भरतपुर अस्पतालकै वरिष्ठ चिकित्सकले उपचार गर्ने भएपछि उपचारका लागि भरतपुर अस्पताल आउनुपर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

पालिकाहरु सकारात्मक भएमा दुई वर्षमा भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा जोड दिन सकिने बताउनुभयो ।

भरतपुर अस्पतालमा दैनिक तीन हजार बिरामी बहिरङ्ग सेवा उपचारमा आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.