काठमाडौं :
आगामी वर्ष अर्थार्त वैशाख १२ गतेबाट संसारभर प्रदर्शनमा आउन लागेको फिल्म ‘भूठान’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको टिजर रिलिज गरेको हो।
टिजरमा भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ। हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन्। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश आचार्य गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ।
एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ। सो दृश्यले फिल्ममा यो विवादको अन्त्य कसरी होला भन्ने कौतुहलता प्रदान गरेको छ। अर्को एक दृश्यमा समलैंगिक सम्वन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन्। खुला समाजले दिएको स्वतन्त्रता र त्यसले परिवारमा ल्याएको तनाव सो दृश्यले देखाउन खोजेको छ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन् जसले सिनेमा अन्तराष्ट्रिय स्तरमै बनेको देखिन्छ। टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढदै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ जसले फिल्मको कथावस्तु अत्यन्त गम्भीर रहेको र हरिवंश आचार्यले अभूतपूर्व अभिनय र भूमिका निर्वाह गरेको प्रष्ट देखिन्छ। फिल्म भित्र हरिवंशको पुनर्जन्म हुन्छ कि हुँदैन पुरै फिल्म नआई भन्न सकिन्न तर अभिनयको दुनियाँमा भने उनको पुनर्जन्म हुने निश्चित देखिएको छ। यति लामो उनको अभिनय यात्रामा यो खालको हाउभाउ र चरित्र अहिलेसम्म नेपाली सिनेमाका दर्शकले देख्नै पाएका थिएनन् ।

फिल्मको टिजरमा देखिएको अर्को अभूतपूर्व काम भनेको सुसन प्रजापतिको छाँयाकन हो। प्रस्तुत कुनै पनि दृश्य र दृश्यभाषा अहिलेसम्म बनेका नेपाली सिनेमाको जस्तो छैनन् र यो कुनै हलिउडकै सिनेमा हो कि भन्ने लाग्छ। सरसरती हेर्दा निर्देशक विनोद पौडेलले नेपालका कलाकार र हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्नलाई लिएर विशेष काम गरेका छन् भन्ने छनक देखिएको छ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेकाछन्। हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन्।
सन् २०१९ मा ९२ औं अस्कर अवार्डको लागि नेपालबाट मनोनित फिल्म ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय फिल्म पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो फिल्म हो। यस फिल्मको प्रमुख निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी,अमितावजोशी,सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी,कौशिला खनाल –कर्माचार्य,रमेश भट्ट,अपार श्रेष्ठ,भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं),राजु पौडेल,रविन पोखरेल र नवराज पराजुली छन्। यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेकी छन्।
फिल्ममा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,सम्बरन प्रेथु राईको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन,बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ ।
यस फिल्मलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
यो फिल्मले भुटानदेखि नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ ।