काठमाडौँ,
गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकमाथिको छलफलमा बोल्दै लेखकले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गरे ।
उनले बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता रहेको समेत स्पष्ट पारे । आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशनात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको उनको भनाई छ।
मन्त्री लेखकले आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने जिकिर गरे । उनले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको बताए ।
