सुचना, समाचार र मनोरन्जन

काँग्रेस महामन्त्री शर्माको शब्द,संगीतमा ‘बिगुल’ को आउ यस्तो देश बनाऔं

काठमाडौं :
बेनिशा हमाल अभिनित फिल्म फिल्म ‘बिगुल’मा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोलाई आइतबार सार्वजनिक गरेको हो।

नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन्। यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुले अभिनय गरेका छन्। गीतको भिडियोमा बेनिशाका अलवा नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ।

रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ देशप्रेम,राष्ट्रभक्ति,समाबेशीता,शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुसाशन,बिकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ। देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनीक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ।

कल्पना पौडेलको प्रस्तुति रहेको फिल्म‘‘बिगुल’मा भुइँमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको निर्देशक कोइरालाको भनाई छ। उनी भन्छन्, ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण व्यावसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं।’

जेन्जी आन्दोलनप्रति समर्पित फिल्ममा म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन्। राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.