सुचना, समाचार र मनोरन्जन

निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना

काठमाडौं :

फिल्म ‘सिन्दुरे जात्रा’ का लागि कलाकार अनुबन्ध प्रक्रिया सुरु भएको छ। सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज फिल्मका दुई मुख्य कलाकार अनुबन्ध गरेको हो।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन्। यी दुवै कलाकार ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरूले निर्देशक पौडेलकै निर्देशनमा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेका थिए।

‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्म बनेको थियो। फिल्मले नेपाली बक्स अफिसमा झण्डै ५० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको थियो।

उक्त फिल्म विजय बरालको करियरको टर्निङ पोइन्ट सावित भएको थियो। उनले फिल्ममा ‘पूर्णबहादुर’को केन्द्रीय भूमिका निर्वाह गरेका थिए। अञ्जना बराइलीले भने विजय बरालकी श्रीमतीको भूमिका निभाएकी थिइन्।

सोही सफल सहकार्यपछि विजय बराल र अञ्जना बराइलीलाई लिएर निर्देशक सरोज पौडेलले अब ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेका हुन्। ‘लक्की टिम’ फेरि एकपटक एकसाथ पर्दामा देखिन लागेसँगै दर्शकमाझ उच्च अपेक्षा सिर्जना भएको छ।

अन्य कलाकारहरू पनि क्रमशः अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले जानकारी दिए। “‘सिन्दुरे जात्रा’मा कथाअनुसार चरित्र सुहाउँदा कलाकारहरूलाई चरणबद्ध रूपमा अनुबन्ध गरिनेछ,” उनले भने, “अबको केही समयमै कलाकार फाइनल गरेर अन्य तयारी सुरु गर्नेछौँ।”

कलाकार छनोटमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै निर्देशक पौडेलले विजय बराल र अञ्जना बराइली बजारको ट्रेन्डका आधारमा नभई कथाको मागअनुसार अनुबन्ध गरिएको बताए। उनका अनुसार, “फिल्म राम्रो बनाउन कथाअनुसारको चरित्र र त्यसलाई न्याय गर्ने कलाकार अनिवार्य हुन्छ।”

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंको हो। फिल्मको वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहनेछ। फिल्मको रिलिज मितिबारे भने निर्माणपक्षले हालसम्म कुनै जानकारी दिएको छैन।

५० करोडभन्दा बढीको व्यापार गर्ने सफल टिम फेरि एकसाथ आउँदा फिल्म क्षेत्र र दर्शकमाझ ‘सिन्दुरे जात्रा’ लाई लिएर अहिलेदेखि नै ठूलो उत्साह र अपेक्षा देखिएको छ।

Leave A Reply

Your email address will not be published.