काठमाडौं ।
फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ। अभिनेता तथा निर्देशक अर्पण थापाले आफ्नो नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन्। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणा तथा शुभमुहूर्त गरिएको हो।
नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिएका अर्पण थापाले यस फिल्मको निर्देशन आफैं गर्नेछन्। साथै, उनी स्वयं फिल्मको मुख्य भूमिकामा पनि देखिनेछन्।
अर्पण थापासँगै फिल्मको मुख्य भूमिकामा अभिनेत्री थिन्ले ल्हामो रहनेछिन्। थिन्ले अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको फिल्म ‘शाम्बाला’ बाट परिचित भएकी हुन्। उनले स्वीट्जरल्यान्डमा आयोजित विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभल मा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी थिन्ले ल्हामो र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी यस फिल्ममार्फत पहिलो पटक देखिन लागेको हो। फिल्मको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन्।
फिल्मको छायांकन सोमबारबाट चितवनका विभिन्न स्थानमा सुरु हुने निर्माणपक्षले जनाएको छ।
फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत रहेका छन् भने सह–निर्मातामा सुभाष बी. शाही छन्। सिनेमेटोग्राफीको जिम्मा अनुभवी छायाँकार सुदीप बरालले सम्हाल्नेछन्। फिल्ममा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ।
फिल्मको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गर्नेछ। निर्माणपक्षले फिल्मलाई सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।
शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित फिल्म हुनसक्ने संकेत गर्ने ‘फ्रेन्च किस’ले अभिनेता–निर्देशक अर्पण थापाको फरक प्रस्तुति र अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी थिन्ले ल्हामोको अभिनयमार्फत नेपाली दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।