काठमाडौं ।
नायिका पूजा शर्माको आइटम डान्ससँगै फिल्म ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको अन्तिम चरणको छायांकन चोभारमा गरिएको एक गीतसँगै सकिएको निर्माणपक्षले जानकारी दिएको छ।
फिल्ममा पूजा शर्माले ‘क्या राम्री’ बोलको गीतमा आइटम डान्स गरेकी छन्। उक्त गीतको छायांकन दुई दिन लगाएर गरिएको हो। यससँगै करिब ६० दिन लामो छायांकन सेड्युल पूरा भएको निर्माता किरण नेपालीले बताए। फिल्मको मुख्य छायांकन भने जुम्लाका विभिन्न स्थानमा गरिएको हो।
बिहेपछिको पहिलो फिल्मी काममै आइटम डान्स गरेकी पूजा शर्माले गीत सुन्ने बित्तिकै मन परेकाले काम गर्न तयार भएको बताएकी छन्। करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा आफू निकै उत्साहित भएको पनि उनको भनाइ छ।
आशिष अविरलको संगीत रहेको ‘क्या राम्री’ गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर तथा सुरेन्द्र रानाको शब्द छ। गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन्। गीतको भिडियोमा पूजा शर्मासँगै अभिनेता उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीको नृत्य देख्न सकिनेछ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’मा लक्ष्मण सुनारको कथा तथा निर्देशन र महेश दवाडीको लेखन रहेको छ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, सुलक्षण भारती, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ। बाल कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा रहेका छन्।
निसाल पौडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत समावेश छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।
फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ, जसले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्माणपक्षको दाबी छ। देवता र राक्षसको कथावस्तुमा आधारित फिल्म ‘कल्ली’को आइटम गीत भने केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।