काठमाडौं ।
आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ का मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरी फिचर्ड पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर फिल्मको मर्मस्पर्शी गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक गरिएको हो।
फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा शिव परियारको स्वर, रञ्जित गजमेरको संगीत तथा निर्देशक सुदीप भुपाल सिंहकै शब्द रचना रहेको छ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरीलाई सहरबाट गाउँ फर्किने यात्रामा देखाइएको छ। गीतमा उनीहरूको यात्राका क्रममा आउने भावनात्मक उतार–चढावलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध र घरप्रतिको मोहलाई प्रस्तुत गरिएको छ।
फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ मार्फत निर्देशक सुदीप भुपाल सिंह सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका छन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। पछिल्लो समय पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’ पनि दर्शकको रोजाइमा पर्ने निर्माण टिमको विश्वास छ।
यसअघि सार्वजनिक फिल्मको टिजर र पोस्टरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको निर्माणपक्षले जनाएको छ। सार्वजनिक गीतले पनि दर्शकको मन छुने अपेक्षा गरिएको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ।
निर्देशक सुदीप भुपाल सिंहकै लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा आईड्रिम एनिमेसनको भिएफएक्स रहेको छ।
फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो। गीतहरूमा रञ्जित गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर समावेश छ।