काठमाडौं :
आगामी २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) प्रदर्शनमा आउने फिल्म ‘रोल नं. १’ को मिति निर्माण पक्षले सार्वजनिक गरेको छ। शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसरमा चलचित्र निर्माण टोलीले विद्यालय ‘पाथिक ज्ञ्यान निकेतन’मा पुगेर विशेष शैलीमा मिति घोषणा गरेको हो।
निर्माण टोलीका अनुसार फिल्म नेपालभरिका हलमा मात्र नभई विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ। मुख्य छायांकन हिमाली जिल्ला म्याग्दीका रमणीय गाउँ र ग्रामीण भेगमा खिचिएको छ। जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं. १’ पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित फिल्म हो। गत वर्ष सार्वजनिक ‘फर्स्टलुक’ पोस्टरमा कक्षामा हात उठाउँदै उपस्थिति जनाउने बालकको दृश्यले धेरैको ध्यान खिचेको थियो।
फिल्ममा मुख्य कलाकारहरू मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी रहेका छन्। बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी, कार्यकारी निर्माता रमेश चौलागाईं, छायांकन शिवराम श्रेष्ठ, संगीत प्रशान्त शिवाकोटी,प्रोडक्सन डिजाइन कला संग्रौला,प्रोडक्सन हेड मनोज जोशी,सम्पादन मदन घिमिरे रहेका छन्। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्नेछन्।