सुचना, समाचार र मनोरन्जन
Pdms

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक, भदौ ६ गतेदेखि प्रदर्शन

काठमाडौं – नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सोमबार सार्वजनिक गरिएको छ। निर्देशक हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रको टिजरमा कोरिया जान चाहने मुख्य पात्र विजय बरालको संघर्ष, सपना, प्रेम र धोका समेटिएको छ।

सार्वजनिक टिजरको सुरुवात विवाह दृश्यबाट हुन्छ भने त्यसपछि कथावस्तु पात्र विजय बरालको कोरिया जानुअघि देखिएका पारिवारिक असमझदारी र काठमाडौं आइपुगेर भोगिएको ठगी घटनामा केन्द्रित देखिन्छ। टिजरले जानकारीविना तय गरिएको गन्तव्य कति कठिन हुन सक्छ भन्ने यथार्थलाई उजागर गरेको छ।

चलचित्रमा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ। टिजरमा विजय र मिरुनाबीचको प्रेम सम्बन्धको झलक पनि देखाइएको छ।

पेपरक्लिप ब्यानर अन्तर्गत निर्माण गरिएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन् भने संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीले तयार पारेका छन्।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको वितरण जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.