सुचना, समाचार र मनोरन्जन

विजय बरालको अनौठो लुक्ससहित पोस्टर रिलिज गर्दै चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति घोषणा

काठमाडौं :

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा चलचित्रलाई २०८३ साल माघ १५ गतेदेखि नेपालका हलमा प्रदर्शन गरिने उल्लेख गरिएको छ।

सार्वजनिक पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका प्रमुख पात्र ‘पुन्य चौलागाईँ’को फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि तथा पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ।

चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने उथलपुथलपूर्ण तथा रमाइला परिस्थितिहरू वरिपरि केन्द्रित छ। यसअघि गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेको दृश्यसहितको पोस्टर सार्वजनिक गरिएको थियो।

चलचित्रको कथा तथा पटकथा सजन काफ्ले र आकास बरालले तयार पारेका हुन् भने उनीहरूले नै संयुक्त रूपमा निर्देशन गरेका छन्। हिट चलचित्र’बेहुली फ्रम मेघौली’ पछि यो जोडीको दोस्रो चलचित्रका रूपमा ‘जिरो डिग्री’ निर्माण भएको हो।

कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका रमणीय बस्तीहरूमा छायांकन गरिएको चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री, शारदा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ।

मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन्। चानस पुन मगर सम्पादक, राजेन्द्र मोक्तान रङ्ग संयोजक तथा अङ्कित बाबु अधिकारी संगीतकार हुन्। चलचित्रको पोष्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्। चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.