सुचना, समाचार र मनोरन्जन

पल, मलिका र आकाशको ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ धमाकेदार नृत्य

काठमाडौँ :

यही असोज ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। निर्माण टोलीले चलचित्रको प्रचारप्रसारका लागि यो डान्सिङ गीतको भिडियो सार्वजनिक गरेको हो।

सामूहिक विवाहको परिवेशमा तयार पारिएको यस भिडियोमा पल शाह, मलिका महत र आकाश श्रेष्ठ लगायतका कलाकारहरू रमाइलो नृत्य गरिरहेको देख्न सकिन्छ। दुलाहाहरूसमेत छमछमी नाचेको दृश्य भिडियोमा निकै आकर्षक देखिएको छ। यस गीतको नृत्य निर्देशन (कोरियोग्राफी) गम्भीर बिष्टले गरेका हुन्।

बाबुल गिरीको शब्द रचना तथा संगीत रहेको यस गीतमा रवि ओड र गंगा सोनामको स्वर छ भने शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले सामूहिक गायनमा साथ दिएका छन्। सार्वजनिक भएसँगै गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन्। यो चलचित्रमार्फत पल शाह र मलिका महतले पहिलोपटक ठूलो पर्दामा सहकार्य गरेका हुन्।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रमा पल शाह, मलिका महत, बिपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारको मुख्य भूमिका छ।

चलचित्रको लेखन तथा संवादमा चन्द्र पन्तलाई रोशन भट्टले सहकार्य गरेका छन्। नवराज उप्रेतीको छायाङ्कन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा करण सिंहको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस चलचित्रको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ हो। चलचित्रलाई ‘आरआर फिल्मस्’ले नेपालभर वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.